अछाम । तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ ।
तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको आज शव फेला परेको हो ।
दुवै जना यही वैशाख ३ गते डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए । कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबाछोरा बेपत्ता भएका थिए ।
सुर्खेतबाट आएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको ६ जनाको गोताखोर टोली र नं ४९ गुल्म हेड क्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वको विपद् व्यवस्थापन टोलीले घटनास्थलबाट ५०० मिटर पारि पानी मुनिबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।




