नयाँ वर्ष २०८३ को पहिलो दिन तथा वैशाख सङ्क्रान्तिका अवसरमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल त्रिवेणी धाम मा बिहानैदेखि भक्तजनहरूको ठुलो घुइँचो लागेको छ। नयाँ वर्षको सुरुवात पवित्र नदीमा स्नान र भगवानको दर्शनबाट गर्ने परम्परा अनुसार त्रिवेणीमा हजारौँ तीर्थालुहरू पुगेका छन्।
मङ्गलबार बिहानैदेखि नारायणी नदीको किनारमा स्नान गर्ने भक्तजनहरूको लाम लागेको थियो। विशेषगरी त्रिवेणीमा रहेका गजेन्द्रमोक्ष दिव्य धाम, शिवालय तथा अन्य मठमन्दिरहरूमा पूजा–अर्चना गर्नेहरूको भीड अत्यधिक देखिएको छ। सङ्क्रान्तिका दिन त्रिवेणीमा स्नान गर्नाले वर्षभरि सुख–शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
त्रिवेणी धाम केवल नेपालको मात्र नभई छिमेकी देश भारतका भक्तजनहरूको पनि प्रमुख आस्थाको केन्द्र हो। आजको विशेष दिनमा भारतको उत्तर प्रदेश र बिहार राज्यबाट हजारौँ भारतीय तीर्थालुहरू त्रिवेणी पुगेका छन्। यसले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ।
“साल फेरिएको” यस दिनलाई नयाँ सङ्कल्प गर्ने अवसरका रूपमा लिइन्छ। त्रिवेणीमा तमसा, स्वर्णभद्रा र नारायणी नदीको संगम हुने भएकाले यहाँ स्नान गर्दा पितृ तर्पण र पुण्य प्राप्त हुने जनविश्वास छ।
नयाँ वर्षको पहिलो दिनले त्रिवेणी धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा पुनः स्थापित गरेको छ। स्थानीयका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या अझ बढेको छ।




