भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले चैत १३ मा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत निम्तो दिएको बताएका छन् ।
मौरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँग कुराकानी गर्दै मोदीले निमन्त्रणा गरेको र त्यसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको खुलाएका हुन् ।
खनालले भ्रमणलाई परिणाममुखी बनाउन गृहकार्य भइरहेको समेत बताए ।
प्रधानमन्त्रीले निम्तो स्वीकार गर्नुभएको छ,’ उनले भने, ‘दुवैतर्फबाट प्राविधिक र राजनीतिक तहमा तयारी पूरा भएपछि मात्र भ्रमण हुनेछ, ताकि यसले ठोस नतिजा दिन सकोस् ।’ द्विपक्षीय संयन्त्रमा छलफल गरेर उपयुक्त हुने गरी भ्रमणको मिति तय गरिने मन्त्री खनालले बताए ।
दुवै पक्षले भ्रमणबाट ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए । मन्त्री खनाल भारतको विदेश मन्त्रालय, मौरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौँ हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन त्यहाँ पुगेका हुन् । परराष्ट्रका एक अधिकारीका अनुसार यस पटकको उच्चस्तरीय भ्रमणलाई औपचारिकतामा सीमित नराख्ने स्पष्ट उद्देश्य छ ।
काठमाडौं र नयाँ दिल्ली दुवै पक्षले ठोस उपलब्धि सुनिश्चित गर्न काम गरिरहेको उनको भनाइ छ ।
खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार भएको आईओसीको साइडलाइन भेटवार्तामा नेपालका प्राथमिकता अनुसार परियोजना र कार्यक्रम तय गरेपछि मात्र भ्रमण तय गर्ने सहमति भएको छ ।
दुवै देशले तय गरेका प्राथमिकतामा केन्द्रित हुँदै द्विपक्षीय सबै संयन्त्र सक्रिय बनाउने र नयाँ सहकार्यका क्षेत्र खोज्ने सहमति भएको छ,’ मन्त्री खनालले भने । उनले काठमाडौंले स्पष्ट मार्गचित्र र प्राथमिकता तय गरेपछि त्यसलाई भारतीय पक्षसँग छलफल गरिने बताए ।





