अमेरिकाले एकैपटक ३५ नेपालीलाई डिपोर्ट गरेको छ । ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको हो । गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् । मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, अन्यलाई भने विभिन्न नियम उल्लङ्घन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो ।
पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भइसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट पटकपटक नेपालीहरू डिपोर्ट हुँदै आएका छन् ।
ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।




