नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन वैशाख २१ र २२ गते गर्ने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन नयाँ मितिमा तय गरिएको छ। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय गरिएको हो।

शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले अदालती विषयमा कानुनी परामर्श गर्दै नयाँ मिति तोकेको जनाएको छ। बैठकको निर्णय अनुमोदनका लागि वैशाख ९ गते केन्द्रीय (कार्यकारिणी) समितिको बैठक बोलाइएको छ।

यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा तथा निर्वाचन उच्च अदालत पाटनको आदेशले रोकिएको थियो। बस्तुगततर्फको सदस्य पेट्रोलियम ढुवानी महासंघको उजुरीपछि अदालतले अन्तरिम आदेश जारी गर्दै कार्यक्रम स्थगित गरेको थियो।