नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अपूर्ण रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
लेखकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी गठित आयोगको प्रतिवेदनलाई अप्रमाणित भन्दै त्यसकै आधारमा आफूविरुद्ध फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा राखिएको उल्लेख गरेका छन् ।
‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु,’ उनले लेखेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाएको आरोपमा प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतको परमादेशपछि उनी बिहीबार रिहा भएका हुन् ।
लेखकले आफू कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएकाले आगामी दिनमा कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका छन् । ‘परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु । म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु । बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,’ उनले भनेका छन् ।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन् ।




