नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतको परमादेशका आधारमा आज हाजिरी जमानीमा रिहा भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सरकारले गैरकानूनी रूपमा १३ दिनसम्म नियन्त्रणमा राखेपनि मुद्दा चलाउने कुनै आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ’
साथै उनले आफ्नो मुद्दामा परमादेश जारी गर्ने सर्वोच्च अदालत, उपचारमा खटिएका चिकित्सक, प्रहरी लगायत रिहाइका लागि आवाज उठाउने र कानुनी लडाइँमा अहोरात्र साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।
‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु ।’
उनले अगाडी थप भनेका छन्, ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु ।’
उनी आज रिहा भएपनि केहि दिन अस्पतालमै रहने भएका छन् । ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता–कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेका छन् ।





