स्याङ्जाको बिरुवा गाउँपालिका-४ मडकिनास्थित घुम्ती-बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिपमा चालकसहित १५ जना सवार थिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको बताइएको छ ।
घाइते हुनेहरूमा स्याङ्जा बिरुवा गाउँपालिका-४ का ८ वर्षीया एन्जल नेपाली, १३ वर्षीय कृष्चल दर्जी, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल छन् ।
यसैगरी पुतलीबजार नगरपालिका-७ की ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली, कास्की पोखरा महानगरपालिका-११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा-१५ की ६० वर्षीया बिमला गुरुङ र पोखरा-१७ की ५६ वर्षीया सिता वाग्ले पनि घाइते छन् ।
उद्धारका लागि प्रहरी निरीक्षकसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




