कांग्रेसको जरा अभियान घोषणा, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ ।

पार्टीले ‘एक महिने जरा अभियान’ घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष अभिमुखीकरण कार्यक्रमसँगै महाधिवेशनको कार्यतालिका अनुसारका गतिविधिहरू अगाडि बढेका हुन् ।

पार्टीले आगामी २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा जरा अभियान सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्ला र ६,७४३ वटै वडाहरूमा विशेष गतिविधिहरू सञ्चालन गरिनेछन् ।

अभियानको मुख्य उद्देश्य क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक स्थितिको विश्लेषण गर्ने र आम जनता एवं युवासँग प्रत्यक्ष संवाद गर्ने रहेको छ ।

यसपटक कांग्रेसले सदस्यता नवीकरणमा नयाँ र कडा व्यवस्था लागू गरेको छ ।

वैशाख महिनाभित्र केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्यले आआफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भएर अनिवार्य रुपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ ।

यसरी भौतिक रुपमा उपस्थित भई सदस्यता नवीकरण गर्ने सदस्यहरूले मात्र ुकांग्रेस आई डीु प्राप्त गर्नेछन् ।

यो परिचयपत्र प्राप्त गर्ने सदस्यहरूले मात्र १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

अभियानका क्रममा पार्टीले निर्वाचनको समीक्षात्मक कार्यक्रमहरू गर्ने, सामाजिक र सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्ने तथा स्थानीय सरकारको सञ्चालन र आगामी बजेट निर्माणमा सहजीकरण एवं मार्गनिर्देशन गर्ने लक्ष्य समेत राखेको छ ।

यसका लागि केन्द्रबाट खटिएका प्रतिनिधिहरू जिल्ला पुगिसकेका छन् भने जिल्ला कार्यसमिति मार्फत वडाहरूमा समेत प्रतिनिधि खटाउने तयारी पुरा भएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाहरूमा प्रतिनिधिहरूको कार्यविभाजन भई कार्य प्रारम्भ भइसकेको पार्टीले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशन असोजमा हुने भएको छ।

402
403
404
405