प्रतिनिधि सभा निर्वाचनमा ठूलो पराजय बेहोरेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको दबाब बढेको छ । निर्वाचनपछि एक महिनासम्म औपचारिक समीक्षा नभएको भन्दै पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने अभियान सुरु भएको छ ।
प्रतिनिधिहरूले हस्ताक्षर अभियान थालेका छन् । पार्टी विधानको धारा ७३ अनुसार दुई तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लिखित मागमा ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
निवेदनमा २०४८ यता संसदीय राजनीतिमा एमालेले सबैभन्दा कमजोर नतिजा प्राप्त गरेको, प्रत्यक्षतर्फ १६५ सिटमा मात्र ९ सिट (५.४५%) र समानुपातिकतर्फ १३.४३% मत प्राप्त गर्नु नेतृत्व र कमिटी प्रणालीप्रति जनताको अविश्वास रहेको उल्लेख छ । काठमाडौं उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा जमानत जफत हुनुले पार्टीको अवस्था गम्भीर रहेको उल्लेख माग पत्रमा उल्लेख गरिएको छ ।
केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर निकास ननिस्कने भन्दै विशेष महाधिवेशन आवश्यक रहेको निवेदनमा उल्लेख छ । युवा नेताहरूले मुख्य रूपमा यो अभियान चलाइरहेका छन् । शुक्रवार च्यासलमा बसेको ६ घण्टे सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गरेको थियो । बैठकले निर्वाचन परिणामप्रति सम्मान व्यक्त गर्दै बालेन शाहको सरकारलाई बधाई दिएको छ ।





