पोखरामा ‘नाइट स्ट्रिट रेस’ हुँदै

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा पहिलोपटक रात्रिकालीन सडक दौड आयोजना हुने भएको छ। “पोखरा नाइट स्ट्रिट रेस–२०८३” नाम दिइएको पाँच किलोमिटरको दौडको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

दौडका संयोजक दीननाथ बरालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य रात्रिकालीन व्यवसाय प्रवद्र्धन, शान्ति–सुरक्षाको सन्देश र खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्नु हो। उनले भने, “जाग्छ पोखरा, दौडाउँछ पोखरा भन्ने नारासहित आयोजना हुने यो दौडले पोखरालाई २४ सै घण्टा सुरक्षित सहरका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।” चैत २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु हुने दौड पोखराका मुख्य सडक हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुनेछ। आयोजकका अनुसार यो कार्यक्रम केवल खेल मात्र नभई सहरलाई राति पनि सक्रिय र सुरक्षित देखाउने प्रयास हो।

पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा हुने यस प्रतियोगिताले पर्यटन प्रवद्र्धन, नाइट लाइफ प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मस्र्याङ्दीले यो कार्यक्रम नयाँ अवधारणाको भएको भन्दै विभिन्न क्षेत्रलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यसलाई खेल पर्यटनका लागि महत्वपूर्ण अवसर भनेका छन्।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा नववर्ष महोत्सवको पूर्वसन्ध्यामा हुने यो दौडले पर्यटक आकर्षण बढाउने बताएका छन्। विदेशी धावकहरूको सहभागिता गराउने पहल भइरहेको पनि उनले जानकारी दिएका छन्। फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतले प्रतियोगितामा उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट उपलब्ध गराइने बताएका छन्। साथै पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

रेस डाइरेक्टर ओम गुरुङका अनुसार ट्राफिक व्यवस्थापनसहित प्राविधिक तयारी तीव्र गतिमा भइरहेको छ। सचिव सागर सुनारले चैत २५ गते बिहान ११ः५९ बजेसम्म अनलाइनमार्फत दर्ता खुला रहेको बताएका छन्। खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा हुने प्रतियोगितामा विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सहभागीलाई बिमा, रिफ्लेक्टिभ टिसर्ट र सुरक्षाका लागि हेडल्याम्प उपलब्ध गराइने आयोजकले जनाएको छ।

करिब सात लाख रुपैयाँ लागतमा आयोजना हुने यो प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा–९ वडा कार्यालय र विभिन्न संघ–संस्थाको सहकार्यमा सम्पन्न हुनेछ।

आयोजकका अनुसार यो दौडले पोखरालाई सुरक्षित, सक्रिय र पर्यटकीय सहरका रूपमा नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।