हेमन्त धामीको घातक बलिङमा कोसी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार भएको खेलमा सुदूरपश्चिमले कोसी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
पहिलो खेलमा कर्णालीलाई ४ विकेटले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा मधेशसँग भने ५ विकेटको हार व्यहोरेको थियो।
पीएम कपमा कोसी प्रदेशले भने लगातार तेस्रो हार व्यहोरेको छ। पहिलो खेलमा मधेशसँग वर्षाका कारण अंक बाँडेको कोसीले दोस्रो खेलमा लुम्बिनीसँग १ सय ४८ रनको फराकिलो हार व्यहोरेको थियो। तेस्रो खेलमा कर्णालीसँग १६ रनले पराजित भएको थियो।
कोसी प्रदेशले दिएको १ सय ३१ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ४५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। किरण ठगुन्ना २५ र लोकेन्द्र चन्द ६ रनमा अविजित रहे। ओपनर अविशेक पल १४ र प्रकाश पाण्डे ४ रनमा क्याच आउट हुन पुगे।
कोसीका लागि विपिन महतोले २ तथा ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए।
त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोसी प्रदेशले ४३.४ ओभरमा १ सय ३० रन बनाउँदा अलआउट हुन पुग्यो।
कोसीका लागि शिवास बजगाइले २५ र सुमन श्रेष्ठले २४ रन थपे। दिपेश कँडेलले २०, फिर्दोस अन्सारीले १८, सकिब हकले १५ रन थपे।
सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए। किरण ठगुन्नाले २ विकेट लिए। नारायण जोशी र सूर्य श्रेष्ठले समान एक विकेट आफ्नो नाममा गरे।





