एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै नेकपा एमालेले आफ्ना सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाएको छ। बिहीबार शपथ ग्रहण कार्यक्रम सकिएपछि सबै सांसदहरूलाई अनिवार्य रूपमा च्यासल उपस्थित हुन निर्देशन दिइएको हो।

एमाले प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई सामूहिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पिताको निधनपछि शोकमा रहेका ओली पहिलोपटक पार्टी कार्यालय आउन लागेका हुन्।

एमाले सांसद क्षितिज थेपेले नेपालखबरसँग भने, ‘हामी शपथ लगत्तै त्यहाँ जाँदैछौँ। अरु केही होइन, हामी नयाँ सांसदसँग अध्यक्षज्यूले भेटघाट गर्ने कार्यक्रम हो।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थिति, नयाँ सरकार गठनको रसाकसी र संसद्मा खेल्नुपर्ने भूमिकाबारे सांसदहरूलाई विशेष निर्देशन दिनेछन्। पार्टीको भावी रणनीति तय गर्न यो बैठक निर्णायक हुने बताइएको छ।