चलचित्र विकास बोर्डले ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ का लागि आवेदन खुला गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै बोर्डले चलचित्रका विभिन्न विधामा २०८२ सालको राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला गरेको हो ।
चलचित्र विकास बोर्डका अनुसार निम्न शर्तहरूको अधीनमा रहेर स्वदेशी चलचित्रहरूको सहभागिता जनाउन सक्नेछन् ।
सर्तहरूः
(क) राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष २०८२ वैशाख १ गतेदेखि २०८२ चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन दिन सकिनेछ।
(ख) विशेष चलचित्रका लागि गत वर्ष २०८२ वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरूको लागि आवेदन दिन सकिनेछ।
(ग) आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८२ वैशाख १ गते देखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन्। तर, आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरु विधागतरूपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन्।विधागत रूपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्नेछ।
(घ) सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन सकिनेछ।
(ङ) राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने आवेदन फाराम पूर्णरूपमा भरी पेश गर्नुपर्नेछ।
(च) आवेदन फाराममा उल्लेख गरिएका विवरण र चलचित्रमा देखिने विधागत नाममा मेल खानु पर्नेछ।
(छ) चलचित्र अवलोकनका लागि अवलोकन पश्चात फिर्ता हुने गरी बोर्डबाट माग गरिएको ढाँचामा चलचित्र उपलब्ध गराउनु पर्नेछ ।
(ज) आवेदन दिइने चलचित्र कथानक हुनुपर्नेछ।
(झ) आवेदनसाथ बोर्डबाट उपलब्ध गराईएको ढाँचामा मञ्जुरीनामा समेत संलग्न गरी पेश गर्नुपर्नेछ।
(ञ) विशेष चलचित्रको हकमा चलचित्रको संक्षिप्त कथासार पेश गर्नु पर्नेछ।
(ट) सहभागिता सम्बन्धी अन्य शर्तहरु दरखास्त फाराममा उल्लेख भए बमोजिम हुनेछन्।
(ठ) सहभागिता सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ।
(ड) यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
(ढ) यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
(ण) आवेदन फाराम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
(त) आवेदन फाराम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई(मेल ठेगाना मा पठाउन सकिनेछ ।
(थ) अन्य शर्तहरु आवेदन फाराममा उल्लेख गरिए बमोजिम हुने बताइएको छ ।





