साफ यू–२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दै

माल्दिभ्समा सोमबारदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुवैले समूह चरणअन्तर्गत समूह ‘ए’ को पहिलो खेल खेल्न लागेका हुन् ।

खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार दिउँसो ४:३० बजे हुनेछ ।

प्रतियोगितामा नेपाल र भुटानसँगै अन्य पाँचवटै सदस्य राष्ट्रको सहभागिता छ ।

समूह ‘ए’ मा नेपाल, भुटान, माल्दिभस र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालित यो प्रतियोगितामा प्रत्येक शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।