धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दु चुमेको हो ।
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को विन्दुमा पुगेको थियो, जसलाई पछ्याउँदै आज बजारले नयाँ उचाइ तय गरेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ११.११ अंकले बढेको छ ।
बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ । आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता सेयर २ लाख ४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पनि गत साउन ११ गते (२६ अर्ब ५७ करोड) पछिकै उच्च हो ।
आजको बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् । यस्तै विजय लघुवित्त र एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् ।
कारोबारका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रह्यो। यस बैंकको ८५ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । त्यस्तै नेशनल हाइड्रोपावर र शिवम् सिमेन्ट्स पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।
आज कारोबार भएका १३ उपसमूहमध्ये १२ वटामा हरियाली छाएको छ भने व्यापार उपसमूह मात्र रातो अंकमा सीमित भयो । लघुवित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ४.२१ प्रतिशत नाफा कमाएका छन् । होटल तथा पर्यटन, बैंकिङ्ग, विकास बैंक, र बीमा लगायतका उपसमूहहरूमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
समग्रमा, लगानीकर्ताको मनोबल उच्च देखिँदा बजारमा ठूलो परिमाणको कारोबारसहित परिसूचकले सकारात्मक मोड लिएको विश्लेषण गरिएको छ।




