राखेपले रंगशाला नदिँदा हङकङसँगको मैत्रीपूर्ण खेल स्थगित

 अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १२ गते दशरथ रंगशालामा आयोजना हुने तय भएको हङकङ, चाइना विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल सञ्चालनका लागि भौतिक पूर्वाधार उपलब्ध नगराएपछि एन्फाले बाध्य भएर खेल स्थगित गर्ने निर्णय गरेको हो। एन्फाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रंगशाला र अन्य आवश्यक पूर्वाधारको अभावमा खेल आयोजना गर्न नसकिएको जानकारी दिएको छ।

विज्ञप्ति अनुसार, एन्फाले फागुन १० गते र पुनः चैत ३ गते पत्राचार गरी खेलका लागि दशरथ रंगशाला, फ्लडलाइट, स्कोर बोर्ड लगायतका पूर्वाधार उपलब्ध गराइदिन राखेपसँग अनुमति मागेको थियो। “मैदान र रंगशाला उपलब्ध गराइदिन गरिएको आग्रह र खेल सञ्चालनको स्वीकृति राखेपले नदिएका कारण यो मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको हो,” एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हङकङसँगको यो खेल स्थगित हुँदा नेपाली फुटबल प्रेमीहरूमा पर्न गएको असुविधाप्रति एन्फाले क्षमा समेत मागेको छ।