पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
प्रहरीका अनुसार जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो ।
यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो।
घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरिएको थियो । गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा पठाइएकोमा उनको पनि उपचारकै क्रममा निधन भएको हो ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब सय मिटर तल खसेको थियो । प्रहरीले दुर्घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।





