वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध तुल्याएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । खोलाको सतह घटेसँगै सडक विभाग र स्थानीय तहको सक्रियतामा क्षतिग्रस्त सडक मर्मत गरिएपछि भर्खरै यातायात सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बाढीले बगाउँदा राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो । सडक अवरुद्ध भएपछि काभ्रेको धुलिखेल, भकुण्डे र कटुन्जे तथा सिन्धुलीको दुम्जा र भिमान क्षेत्रमा सवारी साधनहरूलाई सुरक्षित रूपमा ‘होल्ड’ गरिएको थियो ।
अहिले सडक खुले पनि यात्रा पूर्ण सुरक्षित भइसकेको छैन । मौसम पूर्वानुमान अनुसार थप वर्षाको सम्भावना रहेकाले पहाडी खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । ‘सडक सुचारु भए पनि जोखिम पूर्ण रूपमा टरेको छैन,’ एसपी शाहले भने, ‘राजमार्गको अवस्थाबारे जानकारी लिएर र मौसमको अवस्था हेरेर मात्र यात्रा तय गर्न हामी सबैमा आग्रह गर्दछौँ ।’
विगतमा (२०८१ असोज) आएको विनाशकारी बाढीले बीपी राजमार्गको भकुण्डे-नेपालथोक खण्डको ठुलो हिस्सा बगाएपछि हाल उक्त क्षेत्रमा रोशी खोलाको बगरमा अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिँदै आएको छ । वर्षा हुनासाथ खोलाको बहाव बढ्ने र डाइभर्सन बगाउने समस्याले गर्दा यो मार्ग पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
अहिले सडक विभागले मेसिन र जनशक्ति परिचालन गरी अवरोध हटाएको भए पनि वर्षा जारी रहे पुनः समस्या आउन सक्ने प्राविधिकहरूको भनाइ छ । यात्रुहरूलाई यात्रामा निस्कनुअघि नजिकैको प्रहरी चौकी वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको वस्तुस्थितिबारे बुझ्न सचेत गराइएको छ ।





