आज गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभंग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधि सभा पुन:स्थापना गर्न सहमत भएका थिए । जसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । आन्दोलन सफल भएपछि उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए । पुन:स्थापित प्रतिनिधि सभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलंकारिक राजाका रूपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने काँग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।

चारपटक प्रधानमन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका र्वह गरेका हुन् । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्‍याउने राजनेताका रूपमा उनी स्थापित थिए ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६ औँ स्मृति दिवस मनाउँदै छन् ।