अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा बसेका छन् ।
शुक्रबार बिहान मन्त्री खनालले आफू ‘कुलिङ पिरियड’मा रहेको जनाएका छन् ।
निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने पनि बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको जनाएका हुन् ।
यसअघि उनले कूटनीतिक राहदानी र मन्त्रीको नाममा खोलिएको इमेल आईडी बुझाइसकेको जानकारी गराएका थिए ।
‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन’ (प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्), खनालले फेसबुकमा लेखेका छन् ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका छन् ।
राजीनामा दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु ।’
आफूलाई सिक्ने ठूलो अवसर दिएकोमा, एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाएकोमा उनले खुशी व्यक्त गरेका छन् । उनले लामो स्टाटस लेखेर चैत २ गते सोमबार नै राजीनामा दिएको उल्लेख गरेका हुन् ।




