कैलारी गाउँपालिका-५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया पत्नी सेतानु चौधरी छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार ना६ख ७७८ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा गोरुगाडामा सवार दम्पती गम्भीर घाइते भएका थिए । घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोरुगाडा तान्ने दुवै गोरुको समेत मृत्यु भएको छ । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




