उज्यालो नेपाल पार्टीले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापा विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइसक्दा पनि सार्वजनिक नगरिनु दुःखद र चिन्ताजनक भएको जनाएको छ ।
उक्त आयोग जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको नोक्सानी, राज्य संयन्त्रको भूमिका र बल प्रयोगको औचित्यबारे छानबिन गर्न गठन गरिएको थियो ।
पार्टीका अनुसार प्रतिवेदन सार्वजनिक नहुँदा नागरिकमा अन्योल, शंका र असन्तोष बढ्ने खतरा रहेको उल्लेख गर्दै पीडित, घाइते र मृतकका परिवारले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राख्नु उचित नभएको बताएको छ ।
पार्टीले सत्य सार्वजनिक नगरी स्थायित्व आउन नसक्ने उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्नु दोषी ठहर गर्नु नभई तथ्य जनतासामु ल्याउने प्रक्रिया भएको स्पष्ट पारेको छ ।
उज्यालो नेपाल पार्टीले प्रतिवेदन तत्काल सार्वजनिक गर्न, ढिलाइको कारण स्पष्ट पार्न र निष्कर्षका आधारमा जिम्मेवार पक्षमाथि कानुनी कारबाही अघि बढाउन माग समेत गरेको छ ।
साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्र सुधार, भीड व्यवस्थापन र मानव अधिकार संरक्षणसम्बन्धी स्पष्ट योजना ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ ।




