मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–३ हात्तिसुडे बजारमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना बालिका घाइते भएका छन् ।
धरान–चतरा सडकखण्डअन्तर्गत सोमबार फापरबारीबाट हात्तिसुडेतर्फ आउँदै गरेको बा ७० प ६७११ नम्बरको मोटरसाइकलले विद्यालय जाँदै गरेका पैदल विद्यार्थीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा बकैया गाउँपालिका–३ हात्तिसुडे बस्ने १३ वर्षीया ईशा राई, १४ वर्षीया दिक्षा राई तथा बकैया गाउँपालिका-८ दमास बस्ने १४ वर्षीया जमुना दाहाल घाइते भएका छन् ।
घाइतेमध्ये ईशा राईको टाउको र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दिक्षा राईको खुट्टा र दाहिने कम्मरमा चोट लागेको छ भने जमुना दाहालको बायाँ आँखामुनि र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा ल्याइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता नान्तीराज गुरुङका अनुसार प्रहरी चौकी हात्तिसुडेका प्रहरी नायव निरीक्षक कृष्णकुमार लामाको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। मोटरसाइकल चालक बकैया गाउँपालिका–३ जलजले बस्ने २३ वर्षीय अर्जुन भोलन घाइते हुनुभएको छ र उहाँको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।





