धनुषा, सर्लाही, मोरङ र अर्घाखाँचीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
धनुषाको सबैला नगरपालिका-९ मा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्र.२-०२-००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२-००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मत्यु भएको हो।
मृत्यु हुनेमा धनुषाकै सहिदनगर नगरपालिका-१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादव छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि मोरङको जहदा गाउँपालिका-१ भुटाहास्थित सडकमा बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा भारतीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत बिहार घर भएका ३५ वर्षीय श्रवण राजवंशी छन्। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरि अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ कोलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लु.५ त १७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा कपिलवस्तु घर भएका ४० वर्षीय पन्तराम चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि सर्लाहीकाृ कविलासी नगरपालिका-८ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
म.प्र.०२-००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





