कक्षा १० को परीक्षा (एसईई) सञ्चालनका लागि अन्तिम तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रश्नपत्रहरू छाप्ने, जिल्ला-जिल्लामा पठाउने तयारी अन्तिम चरणमा पुगेको परीक्षा बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनी बताउँछिन्। “परिक्षा तोकिएकै समयमा सञ्चालन हुन्छ,” उनले भनिन्। सबै विद्यार्थी र अभिभावक सोहीअनुसारको तयारीमा रहन उनले भनेकी छन्।
यो साताभित्रमा सबै प्रश्नपत्र छपाइ सकेर जिल्ला प्रहरी कार्यालयहरूमा पुर्याइने उनले बताइन्। त्यहाँबाट परीक्षा केन्द्रहरूका लागि वितरण गरिनेछ।
बोर्डका अनुसार यस शैक्षिक सत्र २०८२ को नियमित तथा ग्रेडवृद्धि तर्फको एसईईमा देशभरबाट लगभग पाँच लाख नौ हजार विद्यार्थी सहभागी हुँदै छन्। परीक्षा तालिका भने यसअघि नै प्रकाशन भइसकेको छ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले ७ माघमा गरेको निर्णयअनुसार आगामी १९ चैतदेखि २९ चैतसम्म सञ्चालन हुनेछ। परीक्षा समय भने बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।
परीक्षा तालिका
१९ चैत २०८२ : अनिवार्य अंग्रेजी
२० चैत २०८२ : अनिवार्य नेपाली
२२ चैत २०८२ : अनिवार्य गणित
२३ चैत २०८२ : अनिवार्य विज्ञान तथा प्रविधि
२४ चैत २०८२ : अनिवार्य सामाजिक अध्ययन
२५ चैत २०८२ : ऐच्छिक प्रथमपत्रका सबै विषय
२६ चैत २०८२ : ऐच्छिक द्वितीयका सबै विषय
२७ चैत २०८२ : प्राविधिक धारतर्फका विषय
२८ चैत २०८२ : प्राविधिक धारतर्फका विषय
२९ चैत २०८२ : प्राविधिक धारतर्फका विषय





