तोलामा ४८ सयले घट्यो सुनको भाउ

 स्थानीय बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको हो।

नयाँ दरभाउअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो केही दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको देखिन्छ, जसमा गत बुधबारको ३ लाख १९ हजारको उच्च मूल्यबाट आइतबारसम्म आइपुग्दा उल्लेख्य गिरावट आएको छ।

चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य कमजोर बनेपछि त्यसको सिधा असर नेपाली बजारमा देखिएको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार २३ र चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।