जापानको आइची नागोया सहरमा आयोजना हुने एसियाली खेलकुदको प्रवर्द्धनका लागि शनिबार ललितपुरमा आयोजित ‘एसियन गेम्स फर रन’ सम्पन्न भएको छ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) ले फन रन आयोजना गरेको हो। एनओसी भवन प्राङ्गणमा सुरु भएको फन रन बीएनबी अस्पताल, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसि, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मंगलबजारमा पुगेर टुङिगएको छ।
फन रनमा एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकसँगै अन्य खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कूटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी गरी करीब एक हजारको सहभागिता रहेको एनओसीले जनाएको छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फन रन आइची नागोया एसियाडको प्रवर्द्धनका लागि मात्र नभई जापानमा हुने आगामी एसियाडमा नेपालको सहभागिता सन्देश दिलाउन र एसियाडको सफलताको कामनका लागि पनि आयोजना गरिएको बताए।
फन रनमा ओलम्पिक काउन्सिल अफ एसियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पीआर निर्देशक फुमिहितो कानाइजु र म्यानेजर मानामी ओकुमुरा उपस्थित थिए।




