जेन-जी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा देशभर घाइते भएकाहरूको अन्तिम विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ९९ वटा अस्पतालबाट प्राप्त तथ्याङ्कका आधारमा कुल २ हजार ६३८ जना घाइतेको उपचार गरिएको पाइएको छ। केही अस्पतालहरूबाट विवरण प्राप्त हुन समय लागेकाले सबै तथ्याङ्क सङ्कलन गरी हाल गृह मन्त्रालयलाई पठाइएको उनले जानकारी दिए।

मन्त्रालयले विभिन्न चरणमा यो विवरण गृह मन्त्रालयमा पठाएको हो, जसअनुसार गत असोज ३१ गते २ हजार ५२२ जना, माघ ४ गते ७७ जना र पछिल्लो पटक यही फागुन २९ गते थप ३९ जना घाइतेको नाम पठाइएको छ।

उपचार गरिएका अस्पतालहरूमध्ये सबैभन्दा बढी चाप नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा देखिएको छ, जहाँ ४५८ जना घाइतेको उपचार भएको थियो। यस्तै, नेपाल पुलिस अस्पतालमा २०३, राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा १०८ जनाले उपचार गराएका थिए। गृह मन्त्रालयमा विवरण पुगेसँगै अब घाइतेहरूको उपचार खर्च र राहतको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।