धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मङ्गलवार राति धरान उपमहानगरपालिका-८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बाँकी तीनवटा बसमा आंशिक क्षति भएको छ । को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा। ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।

को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो नदेखिएको । बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो । यो बस राति ९ बजेतिर पार्किङका लागि ग्यारेजमा प्रवेश गरेको देखिएको साढे ९ बजेबाट आगलागी सुरु भयो, प्रहरीलाई जानकारी करिब १० बजे मात्रै पुगेको प्रहरीले जनाएको छ ।