गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले राजदूत माओमिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटका क्रममा राजदूत माओमिङले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

गृहमन्त्री अर्यालले चीनले नेपाललाई आर्थिक तथा सामाजिक क्षेत्रमा प्रदान गर्दै आएको सहयोगको निरन्तरता रहने र आगामी दिनमा सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गरे । साथै उनले दूरसञ्चार क्षेत्र र साइबर अपराध नियन्त्रणका विषयमा दुई देशबीच बहुपक्षीय सहकार्य र समन्वय बढाउन प्रस्ताव पनि राखेका थिए ।

सो अवसरमा चिनियाँ राजदूत माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका थिए । उनले निर्वाचन सुरक्षा तथा सीमा सुरक्षा व्यवस्थापनमा मन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वतन्त्रताप्रति चीन सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याउँदै देशमा शान्ति, सुरक्षा र कानुनको शासन कायम राखेर निर्वाचन सम्पन्न गराएकोमा गृहमन्त्री अर्याललाई बधाई पनि दिएको गृहमन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।