प्रतिनिधिसभा निर्वाचन २०८२ मा भोगिएको अप्रत्याशित पराजयपछि नेकपा एमालेभित्र असन्तुष्टि सतहमा आउन थालेको छ। मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिँदै पार्टीको शीर्ष नेतृत्वलाई समेत जिम्मेवारी लिन खुला चुनौती दिएका छन्।
आइतबार फेसबुकमार्फत सार्वजनिक स्टाटसमा पोखरेलले जनमतको सम्मान गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। साथै उनले पार्टी अध्यक्षदेखि महासचिवसम्मले पनि परिणामको जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन्।
पोखरेलले एमालेको लामो राजनीतिक यात्रामा अहिले देखिएको परिणाम गम्भीर चिन्ताको विषय भएको बताएका छन्। समस्याको वास्तविक कारण पहिचान नगरी गोलमटोल भाषामा मात्र प्रतिक्रिया दिने प्रवृत्तिले पार्टीलाई थप कमजोर बनाउने उनको टिप्पणी छ।
उनले पार्टी पुनर्गठनका लागि नेतृत्व तहले आत्मसमीक्षा गर्नुपर्ने र आवश्यक परे पद त्याग गरेर नयाँ मार्ग खोल्नुपर्ने बताएका छन्।





