छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीको उद्घोष

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गरेका छन् ।

सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उनले होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गरेका हुन् ।

फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले रङ्गहरूको यस पर्वले समाजमा एकता, सद्भाव र उत्साहको सन्देश दिने तथा नेपालको विविधतालाई मजबुत बनाउने बताए ।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षा समेत गरेका छन् । इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उनले बताए । आफ्नो कार्यकालभर न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गर्दै उनले अबको केही दिनमै देशको बागडोर जनताले चुनेका नयाँ प्रतिनिधिहरूको हातमा सुम्पिने उद्घोष गरे ।

अन्तरिम सरकार आफ्नो मुख्य दायित्व (निर्वाचन गराउने) पूरा गरेर सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे ।