नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब १० अर्ब रुपैयाा झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ८७ दिनका लागि १ खर्ब १० अर्ब रुपैयाा झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ । केही साताअघि दुई साता राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट पैसा झिक्न थालेपछि निक्षेप संकलन औजार जारी भएको थिएन । त्यसपछि भने नियमित रूपमा सातामा दुई पटक निक्षेप संकलनमार्फत बजारबाट पैसा झिकिरहेको छ ।
निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउासो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।





