पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर एक‚ डिजेल/मट्टितेलमा तीन रुपैयाँले बढ्यो

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टितेलमा तीन रूपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुनेछ । निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मूल्य समायोजन गरिएको जनाएको छ।

नयाँ मूल्यअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५४.५० रुपैयाँ, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्र पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समावेश छन्।

निगमले अन्तर्राष्ट्रिय बजार र खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।

203 1