आज नेपाल दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा आइतबार नेपाल र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । खेल मुम्बईको वानखेडे स्टेडियममा बिहान सवा ११ बजे हुँदैछ ।

नेपालका लागि भने यो विश्वकप यात्रा निकै कठिन मोडमा पुगेको छ । सुरुवाती दुवै खेलमा पराजय भोगेको नेपालका लागि सुपर–८ को यात्रा लगभग समाप्त भए पनि टोली प्रतिष्ठाका लागि मैदान उत्रिनेछ ।

पछिल्लो खेलमा इटालीसँग १० विकेटको लज्जास्पद हार बेहोरेको नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो पुरानो लय समात्ने चुनौती छ । नेपालले पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सनसनी पूर्ण प्रदर्शन गर्दै अन्तिम बलसम्म जितको सम्भावना राखेपनि चार रनले खेल गुमाएको थियो ।

लगातार दुई जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज भने आजको खेल जितेर आफ्नो स्थिति थप बलियो बनाउने दाउमा छ । वेस्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रन र बलियो इङ्ल्यान्डलाई ३० रनले हराएको थियो ।