नेपाल आइपुगे भारतीय अनुदानका ५ सय ८८ सवारी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतबाट अनुदान सहयोग गरिएका ५ सय ८८ थान सवारी साधन नेपाल आइपुगेका छन् । २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्ष्य गरेर भारतले नेपाललाई ७ सय थान सवारी अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएकामा ५ सय ८८ थान नेपाल आइपुगेका हुन् । 

अनुदानका सबै सवारी साधन भन्सार छुटमा जाँचपास गरी नेपाल ल्याइएको हो । यसरी भित्रिएका सवारी साधनमध्ये नेपालका लागि भारतीय राजदूत नवीन श्रीबास्तवले शुक्रबार गृह मन्त्रालयलाई २ सय २६ थान र नेपाली सेनालाई ५० थान बोलेरो जिप हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीबास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई २ सय २६ थान र प्रधानसेनापति अशोकराज सिग्देललाई ५० थान हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ । भारतबाट प्रतिबद्धता जनाइएअनुसार बाँकी सवारी साधन अर्को लटमा भित्रिने जनाइएको छ । 

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले अनुदानमा आएका सवारी साधन नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग र मन्त्रालयले प्रयोग गर्ने जानकारी दिइन् । भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ३५ करोड रुपैयाँ बराबरका गैरघातक/भिड नियन्त्रणका उपकरणहरु पनि अनुदानमा सहयोग गरेको छ ।