नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालको प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका दिनमा देखिएका ‘स्टन्ट र हल्ला’ को प्रभावलाई जनताले चिनिसकेको उल्लेख गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई तर्कसहित त्यस्ता भ्रमको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यसको खासै प्रभाव नरहेको स्पष्ट पारे । उनले भने, ‘जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ ।’ नयाँ स्थानहरूमा भ्रम छर्न सजिलो भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उनको भनाइ छ ।
उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूको काम हेरिसकेका कारण जनता अब ‘हल्लाखोर’ प्रवृत्तिको भ्रमबाट मुक्त भइसकेको दाहालले दाबी गरे । जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उनले कम्युनिष्ट कार्यकर्ताहरूलाई ती भ्रमलाई तर्कद्वारा चिर्न आग्रह गरेका छन् ।
राजनीतिक संकट समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको दाहालले जिकिर गरेका छन् । आज सिंगो राष्ट्र यही विचारमा सहमत हुनुलाई उनले पार्टीको वैचारिक जितका रूपमा व्याख्या गरे । उनले भने, ‘कतिपय शक्तिले निर्वाचन सार्ने वा संसद पुनस्र्थापना गर्ने कुरा गरे पनि अन्ततः देश निर्वाचनतर्फै केन्द्रित भएको छ । हामीले जे भन्यौँ, आज सिंगो राष्ट्र त्यही ठाउँमा आएको छ ।’
दाहालले आगामी २४/२५ दिन निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मेहेनतका साथ चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्देशन दिए । पार्टीलाई देशको एक नम्बर शक्ति बनाउने संकल्पका साथ मैदानमा उत्रन उनले आह्वान गरे । चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा पार्टी सधैँ अगाडि रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।





