बैतडी बस दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारको एक लाख सहयोग, घाइतेको उपचार खर्च पनि व्यहोर्ने

सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई मानवीय सहयोगस्वरूप एक–एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्चसम्बन्धी जिम्मेवारी पनि प्रदेश सरकारले लिने निर्णय गरेको छ । सरकारी अस्पतालमा भर्ना भई उपचाररत घाइतेहरूको औषधि र उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जनाइएको छ ।

साथै, घाइतेको अवस्था गम्भीर भई थप उपचारका लागि काठमाडौं लैजानु पर्ने अवस्था आएमा हेलिकोप्टरको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बिहीबार राति पुर्चौडी नगरपालिका–७ बडगाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पतालमा र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदेश सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत र उपचारमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएको छ ।