आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले अब आफ्नो निजी खातामा आर्थिक सहयोग वा चन्दा उठाउन नपाउने भएका छन्। निर्वाचन आयोगले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन प्रयोजनको लागि छुट्टै खाता खोल्नुपर्ने नियम लागू गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, “अघिल्ला निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नै खातामा चन्दा उठाउँदै आएका थिए। अब भने केवल आयोगले मान्यता दिएको निर्वाचन प्रयोजनको खाताबाट मात्र आर्थिक कारोबार गर्न पाइने व्यवस्था बनाइएको छ ।”
यो नयाँ नियमले स्वच्छ चुनाव र पारदर्शी वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। यसअघिका वर्षहरूमा कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत निजी खाताको विवरण सार्वजनिक गरेर चन्दा माग्दा विवाद उत्पन्न भएको थियो।
आयोगको नयाँ निर्देशिका अनुसार, उम्मेदवारहरूले आम्दानी र खर्चको विवरण खुला राख्नुपर्नेछ र निजी खातामा चन्दा उठाउने कुनै अनुमति छैन। यसले निर्वाचनमा अनियमितता र भ्रष्टाचार घटाउने अपेक्षा गरिएको छ ।
यसैबीच, उम्मेदवारहरूलाई आयोगले समयमै आफ्नो निर्वाचन खाता खोल्न र सबै आर्थिक कारोबार त्यसैमार्फत गर्नु अनिवार्य भएको जानकारी गराएको छ ।





