काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।
मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्थे, उनीहरुको २४ परिवार थियो, सबै विस्थापित भएको छ ।
विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।
विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन ।





