बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

सादा पोसाकका प्रहरीले बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप ९ जनालाई स्पष्टीकरण सोधेको हो । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ ।