ईभी माइक्रो दुर्घटना हुँदा छ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा शुक्रबार साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ गइरहेको बाप्र०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, चार जनाको मध्यम रहेका छन् भने अन्य छ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् । 

चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छ भने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था छ । दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी ‘सहचालक’०’ र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बू रहेका छन् ।

उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ । सहचालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । 

घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पतालमा गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।