नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टन्ट गर्नेहरूलाई देशी–विदेशी शक्तिले ठूलो लगानी गरेको जिकिर गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित नेकपा र चुरे भावर पार्टीबीच एकता कार्यक्रममा बोल्दै प्रचण्डले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुने प्रवृति बढेको बताए।
यसरी स्टन्टको भरमा लोकप्रिय हुनेहरूलाई नै देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको उनको भनाइ थियो। ‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा सामाज निर्माणको निमित्त भ्रष्टाचार विरुद्ध अभियान चलाउने, सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनको विरुद्ध आर्थिक विकास निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरेको तपाई हामीले देखेका छौँ,’ उनले भने।
मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिस्ट र वामपन्थी शक्तिबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको उनले बताए।
‘हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मुल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नै नेपाली कम्युनिस्ट पार्टी निर्माण प्रक्रियालाई र धुव्रिकरण र एकताको प्रक्रियालाई अगाडि बढाएका हौँ,’ उनले भने।





