सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै

सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने बैठकका लागि दुईवटा महत्वपूर्ण प्रतिवेदनहरू पेस गर्ने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछिन्। यो विधेयकमा ५५ वर्ष पुरानो ऐनलाई प्रतिस्थापन गर्दै ‘सेन्सर बोर्ड’ को सट्टा ‘प्रमाणीकरण समिति’ राख्ने लगायतका महत्वपूर्ण परिमार्जनहरू गरिएको छ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ। सङ्घीयता कार्यान्वयनको अवस्था र राष्ट्रिय सरोकारका विषयमा समितिले गरेका कामहरू यस प्रतिवेदनमा समेटिएका छन्।