ओली पब्लिक डिबेटका लागि तयार, प्रधानमन्त्रीका उम्मेदवारबीच खुला बहसको आह्वान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक (पब्लिक डिबेट) मा सहभागी हुन आफू तयार रहेको स्पष्ट गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धामा एमाले देश निर्माणको पक्षबाट मैदानमा उत्रिएको बताउनुभएको हो।

अध्यक्ष ओलीले नयाँ र पुराना सबै राजनीतिक दलहरू निर्वाचनमा होमिएको उल्लेख गर्दै यसपटक ऐतिहासिक भूमिका खेलेका दलदेखि हालै खुलेका नयाँ दलसम्मले प्रधानमन्त्रीका उम्मेदवार तोकेर प्रतिस्पर्धा गरिरहेको बताउनुभयो। यस्तो अवस्थामा देशको नेतृत्व गर्न चाहने दलहरूको एजेन्डा, विगतका काम र भविष्यका योजनाबारे सार्वजनिक बहसमार्फत जनतामाझ स्पष्ट हुनुपर्ने उहाँको धारणा छ।

उहाँले पछिल्लो समय बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच पारदर्शी पब्लिक डिबेटको माग उठिरहेको सुन्नमा आएको उल्लेख गर्नुभयो। सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री प्रस्तुत गर्दै मतदातालाई भ्रममा पार्ने प्रवृत्ति बढेकाले पनि यस्तो बहसको आवश्यकता महसुस भएको हुन सक्ने उहाँको भनाइ छ।

देश निर्माणमा यसअघि के–कस्ता काम गरिए, अब के गर्ने योजना र रोडम्याप के छ भन्ने विषयमा आमनेसामने बहस हुनु सकारात्मक हुने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो पब्लिक डिबेटमा उभिएर एमालेले गरेका काम र आगामी कार्ययोजना तथ्यसहित प्रस्तुत गर्न आफू तयार रहेको बताउनुभयो।

चुनावपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न सोधिने सार्वजनिक बहस आयोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्तो बहसमा आफ्ना एजेन्डा खुला रूपमा राख्ने प्रतिबद्धता समेत जनाउनुभएको छ। साथै, सबै पक्षलाई सहभागी गराएर पब्लिक डिबेट आयोजना गर्न उहाँले आग्रह गर्नुभएको छ।