काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा जाने भएका छन्।
आज दिउँसो २ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्दै छ। केन्द्रीय समितिको बैठकमा बालेन उपस्थित हुन लागेको रास्वपा प्रवक्ता मनिष झाले बताए।
गत पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच सहमति भएको थियो। त्यसपछि उनलाई रास्वपाले केन्द्रीय सदस्य मनोतिन गरेर दोस्रो वरियतामा प्रदान गरेको थियो।
रास्वपामा दोस्रो वरियताका नेता भए पनि उनी कार्यालय प्रवेश गरेका थिएनन्। ‘केन्द्रीय समितिको बैठकका लािग आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ,’ प्रवक्ता झाले भने।
केन्द्रीय समितिको बैठकपछि आजै सभापति लामिछाने र बालेन जनकपुर जाने कार्यक्रम रहेको छ। भोलि जनकपुरमा आमसभालाई सम्बोधन गर्ने भएका छन्।





