नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जारी विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि आफूनिकट केन्द्रीय सदस्य तथा नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयनको कार्यविधि पारित गरिसकेको अवस्थामा देउवाले यो कदम चालेका हुन् । छलफल दिउँसो ३ बजेदेखि उनको महाराजगञ्जस्थित निवासमा सुरु हुने बताइएको छ ।
संस्थापन पक्षका नेताहरूका अनुसार, विशेष महाधिवेशनको बन्दसत्रबाट आउने निर्णयहरूको प्रभाव, पार्टीको आगामी रणनीति तथा एकताको सम्भावनाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ । देउवाले यसअघि नै यो महाधिवेशनलाई अवैधानिक ठहर गर्दै पार्टी फुटाउने प्रयास भएको बताएका थिए ।
विशेष महाधिवेशन पक्षधरले बहुमत प्रतिनिधिको सहभागितासहित कार्यविधि पारित गरे पनि संस्थापन पक्षले ‘पर्ख र हेर’ को रणनीति अपनाउँदै आएको छ ।
प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले विशेष महाधिवेशनको निर्णयपछि कानुनी तथा राजनीतिक कदम चाल्ने बताएका छन् ।





