मन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमण सकेर फर्किएपछि मात्र राजीनामा दिने अडान लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका थिए। सोही बैठकमा प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई पनि राजीनामा दिन आग्रह गरेकी थिइन्।
सञ्चार मन्त्री खरेलले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको र चुनाव लड्ने योजना पनि नरहेको बताउँदै राजीनामा नदिने स्पष्ट पारेका छन्। तर, मन्त्री गुप्ता भने राजनीतिमा सक्रिय हुने संकेत गर्दै राजीनामा दिने मनस्थितिमा पुगेका छन्।
गुप्तानिकट स्रोतका अनुसार उनी हाल अमेरिका भ्रमणको तयारीमा छन् र पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएपछि मात्रै राजीनामा बुझाउने अडानमा छन्। स्रोतले बताएअनुसार प्रधानमन्त्रीसँग पनि यस विषयमा समझदारी भइसकेको छ।
कुलमान घिसिङको पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकताको सहमति हुँदा सँगै देखिएका गुप्ता, कुलमान र बालेन शाहको टिममध्ये कुनै एक धारबाट रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ। राजनीतिमा औपचारिक प्रवेशसँगै राजीनामा दिने रणनीतिमा गुप्ता अघि बढेको स्रोतको दाबी छ।





