अमेरिकी आक्रमणपछि भेनेजुएलामा देशभर आपतकाल घोषणा

अमेरिकाले भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गर्न निर्देशन दिएलगत्तै भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा विस्फोटहरु भएका बीबीसीले जनाएको छ ।

आक्रमण शुरु भएपछि राष्ट्रपति निकोलास मदुरोले राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । यस्तै भेनेजुएलाको सरकारले अमेरिकी आक्रामकतालाई नस्वीकार्ने बताएको छ । हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र मुख्य सैनिक अखडा केन्द्रित आक्रमणपछि आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन् । शहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ ।

अमेरिकाले पछिल्ला हप्ताहरुमा लागूपदार्थ बोकेको आरोपमा क्यारिबियनमा कैयौँ डुङ्गाहरूमा आक्रमण गरेको थियो । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो अवैध रूपमा निर्वाचित भएको र उहाँ व्यक्तिगत रूपमा देशभर लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाएको छ ।

भेनेजुएला सरकारले अमेरिकाले तेल ट्याङ्करहरू कब्जा गर्नेसहितका आक्रमणहरु राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न बाध्य पार्ने प्रयास भएको जनाएको छ । दक्षिण क्यारबियन सागरमा महिनौंदेखि अमेरिकी सेना युद्धपोतसहित परिचालन भएका थिए ।